हेटौंडामा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सुरु
जेठ ६, हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म हेटौंडा-४ स्थित भुटनदेवि मावि मतदान हुँदैछ ।
आज हुने मतदानको लागि माधव प्रसाद दाहाल, गोविन्द पौडेल र कैलाश भट्टराई गरि तीनजना मतदान अधिकृत चयन गरिएको छ ।
उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको बताईएको छ ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
बुधबार मतदानस्थल भुटनदेवि मावि परिसरमा राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारसँग छलफल गर्दै प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए ।
मतदान केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । कोभिड संक्रमित मतदाताले भुटनदेवि माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउँनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउँनेछन् ।
उनीहरुको सामान्य स्वास्थ्य जाँचपछि होल्डिङ सेन्टरमा बस्ने छन् भने १० मिटरको दुरी कायम गर्ने व्यवस्था गरेको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठको भनाई रहेको छ ।
कोभिडको कारण भर्चुअल माध्यमबाटै राष्ट्रिय सभाको मतगणना सार्वजनिक गरिने उनको भनाई रहेको छ । मतगणस्थलमा अत्याधुनिक सिसिटिभ रहेको भन्दै आफुहरुले भर्जुअल माध्यम (जुम) मार्फत मतगणना गर्ने योजना बनाएको उनको भनाई रहेको थियो ।
मतगणना साँझ ५ बजेबाट सुरु गरिने र ७ बजेसम्म नतिजा आईसक्ने उनले बताए । निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
























