संसद विघटनविरुद्ध रिट हाल्न सांसदहरुको हस्ताक्षर संकलन
जेठ ९, काठमाडौँ – विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध अदालतमा रिट हाल्ने तयारी स्वरुप सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यावद पक्ष, एमालेको नेता माधवकुमार नेपाल पक्ष तथा राष्ट्रिय जनमोर्चासहितका सांसदको हस्ताक्षर संकलन थालिएको हो। संसद भवनमा छुट्टाछट्टै दलका सांसदको हस्ताक्षर संकलन गरेपछि संयुक्त बैठक बस्ने जनाइएको छ।
अहिले धमाधम हस्ताक्षर संकलन भइरहेको नेताहरुले जनाएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका सांसदहरुको हस्ताक्षरसहित सर्वोच्चमा संसद विघटनविरुद्ध रिट हाल्ने तयारीमा विपक्षी गठबन्धन छन्।
अहिले रिट लेखनको काम पनि भइरहेको नेताहरुको भनाई छ। भ्याएसम्म आइतबार नभए सोमबार सर्वोच्चमा जाने तयारी छ। धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीका लागि देउवासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी प्रस्तुत गरेका थिए।
तर दुवैको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शनिबार बिहानै प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी थिइन्।
























