प्रचण्डलाई कांग्रेसले गुरु मानेर प्रचण्डपथ समायो – प्रधानमन्त्री ओली
जेठ ९, काठमाडौं । लोकतन्त्रको हिमायती भनेर दावी गर्ने नेपाली कांग्रेस प्रचण्डलाई गुरु थापेर आफूविरुद्धको सरकार ढाल्न उद्दत भएको आरोप लगाए । आफैंले गरेको निर्वाचनमा पछारिएको कांग्रेसले अहिले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा गएर प्रधानमन्त्री बन्न लालायीत भएको बताएका हुन् । आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनका क्रममा कांग्रेसले लोकतन्त्रका नाममा अराजकता फैलाएको ओलीले आरोप लगाए ।
उनले देशको पपुलर पार्टीको सरकारको नेतृत्वमा हुने चिर्वाचनमा जान्न भन्दै जिद्धि गर्नु लोकतन्त्रको कुन आचरणमा पर्छ रु भन्दै प्रश्न पनि गरेका छन् । कांग्रेसको बोली सुनेर आश्चर्य लागेको भन्दै ओलीले उत्तेजना र आवेशमा कांग्रेसले अरुलाई गुरु थापेर प्रधानमन्त्रीको पद लिन खोजेको आरोप लगाए ।
‘कांग्रेसको बोली सुनेर आश्चर्य लाग्छ । उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा लागेर चुनाव गराउनुपर्ने रु आफैंले गरेको चुनावमा उहाँहरु २३ सिटमा झरेको होइन रु’ उनले उत्तेजना र आवेशको राजनीतिले कसैलाई पनि फाइदा नहुने बताए । लोकतन्त्र सडकमा प्राप्त नहुने भन्दै ओलीले जनताबाट नै लोकतन्त्र स्थापीत हुने दावी गरे ।
प्रधानमन्त्री बन्न मन भए पनि लोकतान्त्रिक पद्दतिबाट आउनुपर्ने ओलीको भनाए छ । लोकतन्त्रको हिमायती भन्नेले नै अरुको पार्टी फुटाएर, बागी विद्रोही सिर्जना गरेर सरकारको नेतृत्वमा जान खोजेको आरोप लगाए । ‘उहाँहरुलाई प्रधानमन्त्री बन्न मन थियो होला । तर, कीर्ते नाम लिएर, अरु पार्टीभित्र बागी विद्रोही सिर्जना गरेर त्यो पनि एउटा पार्टीमा मात्रै होइन । एमालेका केही तत्वहरुलाई उकासेर । केही सही गराएर, केही कीर्ते गराएर सरकारको दावी गरियो ।’
ओलीले क्षणिक स्वार्थ पूर्तिका लागि दलीय अभ्यासको अनुशासन उल्लंघन नगर्न कांग्रेस र माओवादीलाई अनुरोध गरेका छन् । साथै देउवाले हस्ताक्षर गराएका एमालेका सांसद आफ्नै भएको दावी गरे । ‘हामीले उनीहरुलाई कारबाही गरेका पनि थिएनौं र उनीहरुले पार्टी फुटाएका पनि थिएनन् । यस्तोमा त संसदीय दलको नेताका हैसियतले मैले नै दावी गर्न पाउनुपर्ने हो । जब पार्टी नै फुटेको छैन भने शेरबहादुरजीले कसरी आफूमाथि दावी गर्नुभयो’, ओलीले भने ।
























