लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन , परिणाम आजै आउने

जेठ १७, काठमाडौँ – कोरोना भाइरसको महामारीका बीच लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन जारी छ ।

उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मत हालेसँगै बिहान ९ बजे शुरू भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ ।

मतदानका लागि तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि ९क०, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ९ख० र कोभिड सङ्क्रमितका लागि ९ग० मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा मतदान गर्नेहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट पेस गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

निर्वाचनमा ३ सय मतदाता छन् । जसमा प्रदेश सांसदको संख्या ८३ छन् भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् । उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो । यो उपनिर्वाचनमा प्रदेशसभामा कुल ८७ सांसद रहे पनि कारवाहीमा परेका थप चार जना सांसद भने मतदानबाट वञ्चित हुने भएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् ।

यो निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन् । उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ ।

मतपरिणाम आजै सार्वजनिक हुने
निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट आजै सार्वजनिक गरिने तयारी छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*