मकवानपुरमा अझै पनि निषेधाज्ञा लम्बिने
जेठ १९, हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा जेठ २० गते पछि पनि लम्बिने भएको छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरत मणी पाण्डेले जारी निषेधाज्ञालाई थप गरेर निषेधाज्ञाको मोडालिटिमा परिवर्तन हुनसक्ने बताए ।
प्रजिअ पाण्डेले आज दिउँसो जिल्ला प्रशासन कार्यलय मकवानपुरमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी रहेको बताए । उनले भने,‘जिल्लामा कोरोना संक्रमण जोखिम कायमै रहेको छ । कोरोना संक्रमण बढ्ने संख्या केहि घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको अवस्था रहेको छ ।
जारी निषेधाज्ञाको लाई थप गरेर निषेधाज्ञाको मोडालिटि परिवर्तन गर्ने सोचमा छौ । विज्ञहरुको संगको छलफल पछि आजै निर्णय आउनेछ ।’ जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रजिअ पाण्डेका अनुसार आज बस्ने बैठकमा खाद्यन्न पसलहरु खोल्ने विषयमा समेत छलफल हुनेछ ।
मकवानपुरमा गएको बैशाख २० गतेबाट हालसम्म निषेधाज्ञा जारी रहेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले बैशाख २० गतेबाट ३१ गते राति १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
बैशाख ३० गते बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख २० गतेबाट जारी निषेधाज्ञालाई मकवानपुरभर जारी गर्ने निर्णय गरेको थियो । बैठकले ३१ गते राति १२ बजेबाट जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यसैगरि जेठ ११ गतेको केन्द्रको बैठकले जारी निषेधाज्ञालाई २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।
























