बागमती प्रदेशद्वारा कोरोना रोकथाम तथा नियन्त्रणमा ३२ करोड खर्च

जेठ २०, मकवानपुर — वाग्मती प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि चालु आर्थिक वर्षमा करिब ३२ करोड रुपैयाँ खर्च गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाममा सरकारले स्थानीय तहलाई समेत परिचालन गरेर अगाडि बढिरहेको दाबी गरेका छन् ।

उनले प्रदेश सरकारले कोरोना रोकथामका लागि ३१ करोड ८९ लाख बजेट उपलब्ध गराएको जानकारी दिए । सरकारले हाल प्रदेशमातहतका अस्पतालमा आइसोलेशुन बेड, आईसीयू बेड स्थापना र पीसीआर मेसिन तथा टेस्ट किट खरिद गर्दै ल्याब व्यवस्थापन तथा उपकरण खरिदका लागि २० करोड, सिभिल अस्पतालमा १५० कोभिड बेड सञ्चालनका लागि २ करोड २४ लाख, ११९ स्थानीय तहमा कोभिड १९ रोकथाम उपचारका लागि ९ करोड ३५ लाख र सिन्धुली अस्पतालमा अक्सिजन बुस्टर जडानका लागि ३० लाख बजेट उपलब्ध गराएको छ ।

प्रदेशका ५ वटा अस्पताल र एक प्रयोगशालामा पीसीआर ल्याब रहेको र बाँकी अस्पतालमा ल्याब स्थापना गर्न पहिलो चरणमा ४ अस्पतालका पीसीआर मेसिन खरिद प्रक्रिया सुरु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘प्रदेश सरकार मातहतको सबै जिल्ला अस्पतालहरुमा पीसीआर मेसिन स्थापना गरिनेछ । त्यसका लागि हामीले तयारी अगाडि बढाइसकेका छौं,’ सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले भनिन् । चालु आवमा प्रदेशअन्तर्गत धादिङ, सिन्धुपाल्चोक, रामेछाप र चितवनमा ल्याब स्थापना गरिने उनले बताइन् ।

आगामी आवमा रसुवा, काठमाडौं र ललितपुरमा पीसीआर मेसिनको स्थापना गरिनेछ । ‘ल्याब स्थापना गर्न, आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौं ।’, मन्त्री बस्नेतले कोरोना परीक्षणका लागि मन्त्रालयले तत्काल एन्टीजेन पठाएको बताइन् । ‘प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो,’ उनले भनिन्, ‘त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं ।’

चालु आर्थिक वर्षमै विभिन्न अस्पतालहरुको मागअनुसार प्रदेश सरकारले ४ करोड ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरी पठाइसकेको छ । अस्पतालहरु सुदृढीकरण गर्न प्रदेशमा थपिएका ५ अस्पतालहरुलाई ५ करोड ५० लाख बजेट निकासा गरिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । कोरोना नियन्त्रणका लागि प्रदेशमा ‘ब्याक टु लाइफ’ जर्मन सहयोगबाट सञ्चालित संस्थाले १ करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*