नागरिकता अध्यादेशविरुद्धका रिटमा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै
जेठ २१, काठमाडौं । सरकारले केही दिनअघि जारी गरेको नागरिकता अध्यादेशविरुद्ध दायर भएका रिटको पहिलो सुनुवाइ आज हुँदैछ । आज सुनुवाइ हुने ६ वटा रिटका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास तोक्नुभएको छ ।
राणाले संवैधानिक इजलास तोक्दा वरिष्ठताको रोलक्रम अनुसार नै इजलास तोक्नुभएको छ । सो इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीका निवेदन छुट्टाछुट्टै सुनुवाइका लागि प्रधानन्यायाधी राणाले आफूसहित पाँच न्यायाधीश तोक्नुभएको हो ।
यसअघि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलाश तोक्दा वरियता नमिलाएको भन्दै विवाद भएको थियो । तर यस पटक भने न्यायाधीशहरुको वरियता मिलाइएको हो ।
संवैधानिक इजलासमा तोकिएका न्यायाधीशहरुमध्ये हरिकृष्ण कार्कीपछिको वरियतामा रहेका न्यायाधीश विश्वम्भर श्रेष्ठ कोरोनाका कारण विदामा रहेकाले खतिवडालाई ल्याइएको सर्वोच्च अदालतले जनाएको छ ।
राष्टपति विद्या भण्डारीले जेठ ९ गते नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेशन, २०७८ जारी गर्नुभएको थियो ।
























