जसपाबाट ५ जनाले मन्त्री पदको शपथ लिँदै
जेठ २१, हेटौंडा- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका ५ जना नेताले आज मन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।
जसपा स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा आज ५ जनाले मन्त्री पदको शपथ लिने तय भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री महतो हुनेछन् भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा शरतसिंह भण्डारी जानेछन् ।
त्यसैगरी अनिलकुमार झाले शहरी विकास मन्त्रालय, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने गरी टुंगो लागेको छ । श्रीवास्तव र अरगरिया उपेन्द्र यादवको साथ छाडेर ठाकुर खेमामा आएका हुन् । उनीहरूले लो प्रोफाइलको मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
स्रोतका अनुसार दुवैले शपथ नलिने अडान कायम राखेकाले नेताहरूले मनाउने प्रयास गरिरहेका छन् । उनीहरूसहित पाँचै जनाले आजै शपथ लिने महन्थ पक्षको विश्वास छ ।
























