स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छः राष्ट्रपति
काठमाडौं, जेठ २२ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छिन्।
आजको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गगरिन्।
मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गरेकी छिन्।
प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छिन्।
वातावरण संरक्षण तथा सम्वर्द्धनको गहन अभिभारा पूरा गर्ने काममा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिंँदै राष्ट्रपति भण्डारीले वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिएकी छिन्।
संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई सन् १९७४ देखि विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ।
























