बाग्मती नदीमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न

जेठ २४, हेटौंडा । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौँडा सडकको मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका—४ र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका—३ को सिमानामा पर्ने बाग्मती नदीमा निर्माणाधीन पुलको करीब ८० प्रतिशत काम सम्पन्न भएको छ ।

मदन भण्डारी राजमार्गका इन्जिनीयर बीरेन्द्रप्रसाद महतोले दिएको जानकारी अनुसार १२ ओटा पिलर भएको ७१३ मिटर लम्बाइको बाग्मती पुलको लागत भ्याटबाहेक रू २३ करोड ५३ लाखमा २०६८ असार महीनामा स्वच्छन्द निर्माण सेवाले निर्माण शुरु गरेकोमा २०७३ असारमा सम्पन्न गर्ने अवधिमा सम्पन्न नभएपछि पटकपटक गरी पाँचपटक म्याद थप गरेकामा हाल पुलको काम ८० प्रतिशत सकिएको छ ।

सो पुल निर्माण गर्ने ठेकेदारका प्रतिनिधि सन्तोष सापकोटाले विविध कारणहरु डिजायन थप गर्ने, नाकाबन्दी, भूकम्प, लकडाउन तथा प्राविधिक समस्याको कारण निर्माणमा ढिलाइ भएकामा अब द्रुत गतिमा काम भइरहेको र चार महीनामा सम्पन्न हुने गरी काम गरिरहेको बताए ।

स्थानीय बासिन्दा शंकरकुमार पराजुलीले विगतमा बागमती नदीमा पुल नहुँदा तर्न ट्युबको सहायताले जोखिमपूर्वक नदी तर्नुपर्र्ने बाध्यता थियो । अब पुल बनेपछि सिन्धुली जिल्लाका जनतालाई आफ्ना कृषि उत्पादन विक्री गर्न, उच्च शिक्षा हासिल गर्न, उपचार गर्न हेटौँडा जान सजिलो हुने र यस क्षेत्रको विकासको ढोका खुल्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*