राक्सिराङ अस्थाई कोभिड अस्पतालको आज खुलालद्वारा उद्घाटन

जेठ २५, मकवानपुर– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको अनुदानमा जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा निर्माण भएको अस्थाई कोभिड अस्पताल आजबाट सञ्चालनमा आएको छ ।

जिससको मौज्दात कोषबाट प्राप्त ५० लाख रुपैयाँ बजेटबाट राक्सिराङ गाउँपालिका–५ स्थित ठाडेचुरीमा निर्माण भएको २६ बेडको अक्सिजन सुविधासहितको अस्थाई कोभिड अस्पतालको आज उद्घाटन गरिएको हो ।

कोभिड अस्थाई अस्पतालको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । कोभिड अस्थाई अस्पतालको उद्घाटनगर्नुहुँदै प्रमुख खुलालले कोभिड–१९ को महामारीबाट बच्न र बचाउन सवैजना सकारात्मक भएर, सतर्क भएर जुट्नुपर्ने बताउनुभयो ।

मौज्दात कोषको रकमको सदुपयोग गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुहुँदै प्रमुख खुलालले स्थानीयको जनजीवनमा सकारात्मक परिवर्तनका लागि पालिकाले योजनावद्ध रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो । यस अघि गाउँपालिकाले पालिकाको मुकाम चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयमा कोभिड–१९ अस्पताल सञ्चालन गरिरहेको थियो ।

२६ कोठे प्रिफ्याव भवन तयार भएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई अस्पतालमै स्थानान्तरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ । अध्यक्ष मल्लले जिल्लाकै दुर्गम गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न कै लागि पहिलो पटक पालिकाले मेडिकल अधिकृत नियुक्त गरेको पनि जानकारी दिनुभयो ।

पालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको जानकारी गराउनुहुँदै उहाँले सिटामोल नपाउने, नखाने अवस्था रहेको राक्सिराङमा अहिले हरेक वडामा स्वास्थ्य इकाई निर्माण भएको र स्वास्थ्य क्षेत्रमा विकास हुदैं गइरहेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको ५० लाख र गाउँपालिकाको १५ लाखको लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको हो । अस्पतालमा औषधि स्टोर, भान्छाकोठा, व्यवस्थित शौचालयलगायत सुविधा रहेको छ । भने हरेक बेडमा अक्सिजन सुविधाको व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले डाक्टर सहित ५ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ ।

स्थानीय हरिबहादुर प्रजाले स्वास्थ्य चौकी भवन, कोभिड स्थाई अस्पताल र १५ शैयाको अस्पताल निर्माण गर्नका लागि १ बिगाहा जमिन दान गर्नुभए पछि हाल अस्थाई अस्पता निर्माण भएको छ । भने स्वास्थ्य चौकीको काम अन्तिम अवस्थामा पुगेको छ र १५ शैयाको अस्पताल निर्माणका लागि टेन्डर प्रकृयामा रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

कोभिड–१९ अस्पताल उद्घाटन कार्यक्रममा राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङ, जग्गादाता हरिबहादुर प्रजा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारी, स्वास्थ्य संयोजक विजय कापरी, मेडिकल अधिकृत धनबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा अस्पताल परिषरमा बृक्षारोपण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*