कोरोना विरुद्ध भेरोसेल खोप आजबाट हेटौंडामा पनि लगाउन सुरु
जेठ २६, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आजबाट कोरोना भाइरस विरुद्ध भेरोसेल खोप लगाउने कार्यक्रम सुरु गरेको छ । हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार आज प्राविधिक कारणले खोप लगाउने कार्यक्रम ढिला सुरु भएको हो ।
केहि समय अघिबाट हेटौंडा उपमहानगरपालिकाको वडा नंबर १,२,३,४ र ११ मा खोप लगाउने कार्यक्रम सुरु भईसकेको र हेटौंडा-७,८ र १० मा २० मिनेट समयमा खोप लगाउने कार्यक्रम सुरु हुने निरीक्षक चौलागाईको भनाई छ । आज र भोलि नगर भित्रका ६२ वर्ष देखि ६४ वर्षसम्म उमेर समूहकालाई खोप लागउने कार्यक्रम रहेको छ । चीनबाट आएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरको लागि ६ हजार ५ सय आएको छ जसमा हेटौंडाको लागि २७ सय डोज पठाईएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
त्यसैगरि थाहा नगरपालिकालाई ६ सय ८५ डोज,मनहरी गाउँपालिकालाई ५ सय ३९,बकैया गाउँपालिकालाई ४ सय ८६ डोज,बामगती गाउँपालिकालाई ४ सय ३४ डोज,मकवानपुगढी गाउँपालिकालाई ३ सय ९३ डोज,भीमफेदी गाउँपालिकालाई ३ सय ९३ डोज,कैलाश गाउँपालिकालाई ३ सय ७८ डोज,राक्सिराङ गाउँपालिकालाई २ सय डोज,इन्द्रसरोबर गाउँपालिकालाई १ सय ९२ डोज खोप पठाईएको कार्यलयले जनाएको छ ।
मकवानपुरमा हाल घरमा १ हजार ७९८ जना र १ सय ८ जना आइसोलेसनमा गरी १ हजार ९ सय ६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म ९ हजार ४ सय ९६ जनामा कोरोना पुष्टि हुँदा ७ हजार ४ सय ७० जना संक्रमण मुक्त भइसकेका छन् । जिल्लामा कोरोनाको कारण हालसम्म १ सय ८ जनाको ज्यान गएको छ ।
























