माधव समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण
जेठ २७, हेटौंडा- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । उनका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।
उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने भनिएको छ । मुख्यमन्त्री भट्ट माओवादीका हुन् । केही दिनअघि मुख्यमन्त्रीले विश्वासको मत लिँदा माधव नेपाल पक्षका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उनको पद जोगिएको थियो ।
यसअघि माधव पक्षले भट्टलाई मत नदिने ओली पक्षका सात सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।भट्ट नेतृत्वको सरकार ढाल्ने उदेश्यले गत जेठ १० गते एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
























