दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू सभामुखसँगको छलफलमा
जेठ २८, काठमाडौँ — संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूलाई समसामयिक विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटासँग छलफलमा जुटेका छन् ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा गरिएको थियो । तर उनी उपस्थित छैनन् । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत आएका छन् ।
























