मकवानपुरमा ४ हजार ९५ जनाले लगाए कोरोना विरुद्ध भेरोसेल खोप
जेठ २९, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्ध चीनबाट आएको भेरोसेल खोप लगाउने अभियानमा पहिलो चरणमा ४ हजार ९५ जनाले लगाए खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेका अनुसार जेठ २५,२६,२७ र २८ गते ४ दिनमा जिल्ला भित्रका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका ४ हजार ९५ जनाले कोरोना विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।
सूचना अधिकारी घिमिरे भन्छन्ः मकवानपुरका लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये ४ हजार ९५ डोज खोप लगाईएको छ । जिल्लाका १० वटै स्थानीय तह भित्रका ६२ देखि ६४ उमेर समूहका अधिकांशले खोप पाएका छन् । छुटेको केहिले आज पनि लगाउन सक्नेछन् । स्थानीय तहलाई बाँडिएको खोप लगाएर बाँकी खोप फिर्ता आउँदै छ । अब बाँकी खोप कस्लाई लगाउने भन्ने निर्णय जिल्लाको काभिड संकट व्यवस्थापन समितिले गर्छ ।
अधिकारी घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिका भित्रका २ हजार ३२ जना,बागमती गाउँपालिका भित्रका ३ सय ७८ जना,थाहा नगरपालिका भित्रका ३ सय ३३,मकवानपुरगढी गाउँपालिका भित्रका ३ सय ३१ जना ,बकैया गाउँपालिका भित्रका २ सय ७७ जना,मनहरी गाउँपालिका भित्रका २ सय १९ जना,कैलाश गाउँपालिका भित्रका १ सय ७५ जना ,राक्सिाङ गाउँपालिका भित्रका १ सय ५७ जना,भीमफेदी गाउँपालिका भित्रका १ सय २९ र इन्द्रसरोबर गाउँपालिका भित्रका ६४ जनाले खोप लगाएका छन् । भेरोसेल खोपको दोस्रो डोज ३ हप्ता पछि लगाईने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् । हाल जिल्लामा काभि शिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहनेको संख्या १५ हजार १६२ रहेको छ । भारतमा कोरोना संक्रमण बढेपछि भारत सरकारले आफ्नै देशका नागरिकलाई खोपको पहिलो प्राथमिकतामा राखेर नेपाल लगाएतका देशलाई खोप वितरणमा रोक लगाएको कारण दोस्रो डोज आउन नसकेको हो । खोपको लागि पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा हालसम्म ९ हजार ७ सय १६ जनामा कोरोना पुष्टि हुँदा ८ हजार ९ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल घरमा १४ सय ८० जना र संस्थागत आइसोलेसनमा १ सय २ जना गरी १५ सय ८२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा कोरोनाको कारण हालसम्म १ सय १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
























