हेटौंडामा जलाईयो सांसद वैद्यको तस्विर
जेठ २९, हेटौंडा । हेटौंडामा बागमती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ ।
शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू,अनेमासंघ,मदन भण्डारी स्पोस्र्टस एकेडेमीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो ।
बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ ।
प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ ।
वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए ।
























