आज बागमती प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्को भनाई
असार ४, काठमाण्डौ- आज बागमती र प्रदेश- १ का एक -दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । तर लामो समय पानी पर्ने नदेखिएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको पनि उहाँले जानकारी दिनुभयो ।
अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र केही ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो । अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
























