मकवानपुरमा फेरि निषेधाज्ञा थप गरिने तयारी
असार ६, हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञालाई थप गरिने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जारी निषेधाज्ञालाई खुकुलो गर्दै थप गरिने तयारी गरिएको बताए ।
उनले जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको संख्या बढेको भन्दै जारी निषेधाज्ञालाई खुकुलो गर्दै थप गरिने तयारी गरेको बताए । उनले भनेः आज विज्ञहरुलाई छलफलमा बोलाएका छौ,उहाँहरुबाट आएको प्रतिक्रियाबाट निष्कर्षमा पुग्छौ । निषेधाज्ञा जारी रहन्छ तर खुकुलो गर्छौ । निषेधाज्ञा कस्तो मोडालिटिमा जाने भन्ने निष्कर्ष आजै या भोली दिउँसो सम्म आउँछ ।
प्रशासनले जारी गरेको निषेधाज्ञाको समय भोलि असार ७ गते राति १२ बजे सम्म रहेको छ । जेठ ३० गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले असार ७ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । जिल्लामा गएको बैशाख १९ गते राति १२ बजे देखि निषेधाज्ञा जारी रहेको छ ।
























