मणि थापाले भने – हामी माओवादीमा फर्कने बाटो नै छैन
हेटौंडा, असार ७ – नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी पृष्ठभूमिका नेताहरु असन्तुष्ट रहेको चर्चाका बीच निवर्तमान मन्त्री मणि थापाले पुरानो पार्टीमा फर्कने बाटो नभएको बताएका छन् ।
नेकपा एमालेमा समावेश हुने निर्णयमा आफूहरू दृढ रहेको उनले बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका थापाले पार्टी नेतृत्वमा केही कन्फुजन रहे पनि आफूहरूमा नरहेको बताएका हुन् ।
‘बालुवाटार कन्फ्युज छ भने फरक कुरा भयो तर हामी कन्फ्युज छैनौं । पुरानो पार्टीमा फर्कने बाटो नै छैन,’ थापाले भने । नेकपा विभाजनको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेका नेताहरू सर्वोच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहेका थिए ।
एमालेको विवाद समाधान गर्न जेठ २ गतेको अवस्थामा फर्किने चर्चा चलिरहेको समयमा पूर्व माओवादी पक्षका नेताहरू रनभुल्लमा रहेको टिप्पणी भइरहेको छ ।
पूर्वमन्त्री थापाले भने आफूहरू कुनै कन्फ्युजनमा नरहेको बताएका छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका नेता माओवादी छाडेर एमालेमा लागेका थिए ।
























