कोरोना नियन्त्रणमा भइरहेको कामबारे राष्ट्रपतिले लिइन् जानकारी

काठमाडौं, असार ७ –  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड-१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्।

उनले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर कोभिड सङ्क्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनका लागि भइरहेका तयारीबारे जानकारी लिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिडसम्बन्धी भएका कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताइन्। उनले आगामी दिनमा कोभिड-१९ को सङ्क्रमणबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाई कार्य गर्न आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्न, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिइन्। यस्तै बहुक्षेत्रीय सहयोग र सहकार्य अभिवृद्धि गर्न तथा विश्वविद्यालयसँग सहकार्य गरी अनुसन्धानमा जोड दिन राष्ट्रपतिले आग्रह गरिन्।

उनले कान्ति बाल अस्पतालको सुधार गरी बालबालिकाका लागि उपयुक्त स्वास्थ्य सेवाको व्यवस्था गर्न र निजी तथा सामुदायिक अस्पतालको सेवालाई सहज बनाउनुपर्नेमा पनि जोड दिइन्। सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिडको रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*