प्रचण्डजीले सहि भन्नु भयो,राजसंस्था कायम गर्न पहल गर्नुहोस्’-कमल थापा
असार ११, हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अहिलेको राष्ट्रपतिभन्दा त राजा नै ठीक’ भनेको भनाईलाई राप्रपाका अध्यक्ष कमल थापाले समर्थन गरेका छन् ।
शुक्रबार अध्यक्ष थापाले सामाजिक संजाल मार्फत एक भिडियो शेयर गर्दै प्रचण्डले सहि भनेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष थापाले भनेका छन्ः प्रचण्डजीले सहि भन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन।त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं।यो असल कामको पहल गर्नुहोस् ।
बिहिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले अहिलेको राष्ट्रपतिभन्दा त राजा नै ठीक बताएका थिए । राष्ट्रपतिले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको रहेको उल्लेख गरेका थिए । ‘कमसेकम राजाको शान त थियो,अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन ।’अध्यक्ष प्रचण्डले भनेका थिए ।
























