कोरोनाको कारण हेटौंडाका एक पुरुषको मृत्यु,थप ६२ जनामा कोरोना पुष्टि
असार १२, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर २ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
हेटौंडा अस्पतालमा उपचाररत ७१ वर्षीय वृद्ध पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । वृद्धमा जेठ २९ गते कोरोना पुष्टि भएको र असार२ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । वृद्धमा कुनैपनि दिर्घ रोग नभएको कार्यलयले जनाएको छ । \
यो संगै कोरोना संक्रमणबाट हेटौंडामा हेटौंडा भित्रका मृत्यु हुनेको संख्या ९१ जना र जिल्लामा मृत्यु हुनेको संख्या १ सय २५ पुगेको कार्यलयले जनाएको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । ५७ जनामा पिसिआर र २ सय २६ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप ६२ जनामा संक्रमण देखिएको हो । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १० हजार ८ सय २४ पुगेको छ ।
आज कोरोना पुष्टि हुनेहरुमा सबैभन्दा बढी हेटौंडा भित्रका २५ जना रहेका छन् । यसैगरि थाहा नगरपालिका भित्रका १८ जना,कैलाश र मनहरीका ७ ७ जना,बागमतीका २ जना तथा इन्द्रसरोवर,बकैया र भीमफेदी भित्रका एकएक जना रहेका छन् ।
यसैगरि जिल्लामा आज ८६ जनाले कोरोना जितेका छन् । आज घरमा बसेका ७८ जना संक्रमित र संस्थागत आइसोलेसनमा बसेका ८ जना संक्रमित गरेर ८६ जना संक्रमितले कोरोना जितेका हुन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ९ हजार ६ सय २५ पुगेको छ । जिल्लामा हाल १ हजार ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
























