माओवादीद्वारा प्रदेशसभा बैठक अवरुद्ध
असार १४, मोरङ — प्रदेश १ का विपक्षी दल माओवादी केन्द्रले प्रदेशसभा बैठक सोमबार अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले सदन अवरुद्ध गरेको हो ।
सभामुख प्रदिपकुमार भण्डारीले सदन सुरु गर्नै लागेको बेला माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि सभामुख भण्डारीले माओवादी केन्द्रका एक जना प्रदेशसभा सदस्यलाई आफ्ना कुरा राख्न समय दिएका थिए ।
माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकासमन्त्री गुरुङले सदनमा अमानवीय, अनैतिक, गैरजिम्मेवार ढंगले प्रदेशसभा सदस्यहरुलाई गालीगलौज गर्दै सदनमा सम्बोधन गरेकोले आत्मालोचनासहित माफी माग्नु पर्ने र सदनको रेकर्डबाट उनको भनाइ हटाउनु पर्ने माग गरेका छन् ।
उनले बोलेपछि पुन: माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले उठेर सदन अवरुद्ध गरेका थिए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि नबसेपछि मंगलबार साढे १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खडकाले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिँदै मन्त्री गुरुङलाई कमिसन खानेलगायतको आरोप लगाउँदै आलोचना गरेका थिए ।
प्रदेशसभा सदस्य खडकाले लगाएको आरोपको खण्डन गर्दै मन्त्री गुरुङले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सदन अबरुद्ध गरेको हो । मन्त्री गुरुङले प्रदेशसभा सदस्य मोहनकुमार खड्काले सदनमा आफ्नो चरित्र हत्या गर्ने किसिमले निन्दनीय र दु:खदायी अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बिना आधारकै केही कुरा नबुझिकन तपाईंले कसरी व्यक्तिगत चरित्र हत्या हुने गरी यो सम्मानित सदनमा बोल्नुभयो ?’ उनले भनेका थिए, ‘मैले आफ्नो क्षेत्रमा रिंगरोडको अवधारणा ल्याएर छनोट गरेको बहुवर्षीय योजना ३ करोड बजेट विनियोजन हुँदा तपाईंले ५३ करोड बजेट विनियोजनको कुरो कसरी उठाउनुभयो ?’
ओखलढुंगाको रुम्जाटारमा स्मार्टसिटीको अवधारणा ल्याउँदा तपाईले दु:खी हुनुपर्ने कुनै कुरा छ र भन्दै मन्त्री गुरुङले प्रश्न गरेका थिए । ‘यो सम्मानित सभालाई तपाईंले बेबकुफ बनाउने किसिमले काम गर्नु अली उचित होइन कि माननीयज्यू । तपाईं अझै सुध्रिएर आउनुहोस् । तपाईंको समस्या मेरो समस्या हो त्यसको समाधान गर्ने जिम्मवारी मेरोमा पनि छ,’ उनले भनेका थिए, ‘माननीयज्यू तपाईं होसियारी साथ बोल्नुहोस् । तपाईंले तथानाम, रिसराग, डाहा राखेर सदनको रेकर्डमा रहने गरी बोल्नुभयो ।’
उनले प्रदेशसभा सदस्य खड्कालाई भिजन नभएको भनेका थिए । मन्त्री गुरुङले बोलिरहँदा सभामुख भण्डारीले रुलिङ गर्दै ५ पटक भनाइ छोट्याउन आग्रह गरेका थिए । प्रदेशसभा सदस्य खडकाले भौतिक पूर्वाधार क्षेत्रका विनियोजन विधेयकको छलफलमा मन्त्री गुरुङले दलालमुखी, गुटकेन्द्रित र संघीयता विरोधी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । ‘मन्त्रीमार्फत् अपचलन गर्न यो विधेयकमा बजेट राखिएको छ,’ उनले भनेका थिए, ‘पुँजीगत क्षेत्रको झन्डै ३५ करोड बजेट अबण्डामा राखिएको देखिन्छ जसमा आर्थिक चलखेलको उद्देश्य प्रष्ट हुन्छ ।’
कतिपय प्रदेशसभा सदस्यहरुको सञ्चालित बहुवर्षीय योजनामा भुक्तानीका लागि बजेटको अभाव भइरहेको अवस्थामा आउँदो वर्षको बजेटमा मन्त्रीमुखी र गुटीय रक्षाका लागि थुप्रै टुक्रे योजनाहरु थपिएको खड्काले बताएका थिए । ‘प्रतिपक्षी, गुट बाहिरका प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमा योजनाहरु अन्धाधुन्ध काटिएका छन्,’ उनले भनेका थिए, ‘राख्नैपर्ने योजनाहरुमासमेत सञ्चाल नै नहुने गरी शून्य बजेटको सिद्धान्तमा राखिएको छ ।’
मुख्यमन्त्री शेरधन राईको जिल्ला भोजपुरमा कुनै पनि शीर्षक र उपशीर्षक बजेटमा नछुटेको खड्काको आरोप थियो । ‘ओखलढुंगास्थित मन्त्रीज्यूको निर्वाचन क्षेत्रमा ५३ करोड २१ लाख बजेट छ र त्यो पनि रुम्जाटार, दियाले र कुन्तादेवी तीन ठाउँमा केन्द्रित छ ।’ सोलुखुम्बु जिल्लाभरिका लागि २० करोड २१ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।
























