आज निधि, कोइराला र सिंहबीच भेटवार्ता
असार १५,काठमाडौँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका तीन जना आंकाक्षीहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच आज (मंगलबार) पनि भेटवार्ता भएको छ।
कांग्रेसमा परम्परागत समीकरण भत्काएर नयाँ समीकरण निर्माण गर्ने तयारीमा रहेका यी नेताहरुबीच यसअघि पनि दुई पटक भेटवार्ता भएको थियो।
मंगलबार काठमाडौँ १६ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा तीन नेताहरुबीच भेटवार्ता भएको हो।यसअघि बानेश्वरस्थित निधि निवास र महाराजगञ्जस्थित कोइराला निवासमा नेतात्रयबीच छलफल भएको थियो।
विरासतको राजनीति गर्दै आएका यी नेताहरुको लगातारको भेटले कांग्रेसमा तरंग उब्जेको छ। निधि लामो समयदेखि सभापति शेरबहादुर देउवाको समूहमा छन्। तर १४ औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउन देउवा सहमत नभएपछि उनी नयाँ समीकरण निर्माण गरेर अघि बढ्ने तयारीमा छन्।
























