भरुवा बन्दुक पड्किदा भीमफेदीका लामा घाइते
असार १५, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ३ को कटुसघारीमा भरुवा बन्दुक पड्किदा एक जना पुरुष घाइते भएका छन् ।
घाइते हुनेमा सोहि ठाउँका स्थानीय ४२ वर्षीय माइते लामा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
प्रवक्ता दासका अनुसार घटना असार १४ गते सोमबार बिहानको हो । आफ्नै बारीमा मकै खान आएको बादरलाई धपाउने क्रममा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर लामा घाइते भएको प्रवक्ता दासको भनाई छ ।
घाइते लामा उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा पुगेपछि घटना सार्वजनिक भएको प्रवक्ता दासले बताए । हाल घाइते लामाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























