मकवानपुरमा थप ५० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
असार १६, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार ४८ जनाको स्वाब परीक्षण गर्दा १६ जना र ७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।
पुष्टि हुनेहरुमा सबै भन्दा बढी मनहरी गाउँपालिका भित्रका १६ जना रहेका छन् । यसैगरि हेटौंडा उपमहानगरपालिका भित्रका १४ जना, थाहा नगरपालिका भित्रका १० जना,बकैया गाउँपालिका भित्रका ४ जना,कैलाश गाउँपालिका भित्रका ३ जना,भीमफेदी गाउँपालिका भित्रका र एक जना जिल्ला बाहिरका रहेका छन् । यो संगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ११ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा थप ९८ जना संक्रमितले संक्रमणलाई जितेका छन् अर्थात संक्रमण मुक्त भएका छन् । यो संगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या ९ हजार ८ सय ५१ जना पुगेको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १८ का ६५ वर्षीया महिला रहेकी छन् । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।
जिल्लामा आजको दिनमा ९ सय ९९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९३ जना संस्थागत आइसोलेसनमा उपचारर रहेका छन् भने बाँकी ९ सय ६ जना आफ्नै घरमा उपचाररत रहेका छन् ।
























