आज बागमती प्रदेशसभाको बैठक बस्दै
असार १७, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज दिउसोका लागि बोलाइएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक आज दिउसो तीन बजेका लागि बोलाउनु भएको हो ।
बजेट पेस गरेको १७ दिनपछी आजबाट प्रदेश सरकारले ल्याएको बजेट माथीको छलफल हुने छ । बजेट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ एमालेभित्रै मतभेद सिर्जना भएपछि अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।
प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । असार १ मा आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगन गरिएको थियो ।
सरकारले बजेट बाँडफाँट विवरण पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यहरूलाई उपलब्ध नगराउँदा बैठक बस्न सकेको थिएन । बैठक नबस्दा बजेटमाथि छलफलसमेत रोकिएको थियो । एमालेभित्रको विवादका कारण रातो किताब प्रकाशनमा ढिलाइ भएको हो ।
कानुनी व्यवस्थाअनुसार तोकिएकै दिन बजेट ल्याइएको भए पनि पार्टीभित्रको विवाद मिलाउन सरकारले लामो समयसम्म रातो किताब प्रकाशन नगरेर योजना थपघट गरिरहेको थियो । बजेटमा भौगोलिक सन्तुलन कायम नगरिएको र पहुँचको आधारमा वितरण गरिएको आरोप लगाउँदै एमालेको खनाल–नेपाल समूहका सांसदहरू सरकारसँग रुष्ट छन् ।
उनीहरूले अबन्डाका रूपमा धेरै बजेट राखेर सरकारले मनलाग्दी रूपमा बजेट चलाउन खोजेको आरोप लगाएका छन् । डोरमणि पौडेल नेतृत्वको सरकार असन्तुष्ट सांसदका केही मागहरू सम्बोधन गरेर अगाडि बढ्न खोजेको भए पनि ठोस सहमति भएको छैन ।
जसका कारण एकल बहुमत रहेको अवस्थामा पनि बजेट ‘फेल’ हुन सक्ने अनुमान गर्न थालिएको छ । हाल १ सय ९ सांसद रहेको प्रदेशसभामा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । यसअघि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रम फेल गराउन मोर्चाबन्दी गरे पनि प्रदेशसभामा एकल बहुमत रहेको एमाले एउटै कित्तामा उभिँदा असम्भव भएको थियो ।
अहिले पनि उक्त मोर्चाबन्दी कायमै छ । ‘प्रदेश सरकार संघको एउटा इकाइ जसरी अगाडि बढिरहेको छ । जसको कारणले गर्दा हाम्रो मोर्चाबन्दी कायमै छ,’ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भन्नुभयो । खनाल–नेपाल समूहले पार्टी एकताका लागि सन्देश दिने भन्दै नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग गरेका थिए । बजेट पास गराउने समयमा भने यो समूहले प्रदेश सरकारसँग असहमति व्यक्त गरिरहेको छ ।
यसै कारण सरकारले प्रदेशसभा बैठक डाक्न ढिलाइ गरिरहेको थियो । ‘सरकारलाई बजेटमा सन्तुलन कायम गर्न र प्रतिपक्षीलाई पनि समेट्न हामीले आग्रह गरेका हौं तर त्यसो भएको छैन । त्यसकारण पार्टीभित्रै एकमत छैन । हामी अझै छलफलमै छौं,’ खनाल–नेपाल समूहका एक नेताले भन्नुभएको छ । एमाले मुख्य सचेतक दीपक निरौलाले बजेटको विषयमा आफ्नो दलभित्र मतभेद नरहेको दाबी गर्नुभयो ।
उहाँले स्थानीय तहहरूको बजेट र प्रदेशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण बैठक बस्न नसकिएको बताउनुभयो ।सभामुख सानुकुमार श्रेष्ठले रातो किताब सांसदहरूले प्राप्त गरेसँगै बैठक बोलाएको बताउनुभयो । प्रदेश सरकारले चालु बजेटको तुलनामा करिब १० प्रतिशतले वृद्धि गर्दै आगामी आवका लागि लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
























