लुम्बिनीकी राज्यमन्त्री सुमन शर्माले दिईन राजीनामा

लुम्बिनी, असार १८-  लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छिन्।  रायमाझीले शुक्रबार बिहान लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा दिएकी हुन्। उनले बुझाएको राजीनामा पत्रमा शुक्रबारदेखि नै लागू हुने गरी राजीनामा दिएको उल्लेख गरिएको छ।

रायमाझीले राजीनामा दिएको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए। यससँगै रायमाझीले कारबाही फिर्ताका लागि पनि पार्टीमा निवेदन दिएको यादवले बताए। “उहाँले आत्मालोचना गर्दै कारबाही फिर्ताका लागि म मार्फत केन्द्रीय अध्यक्षलाई निवेदन दिनुभएको छ,” यादवले भने।

राजीनामा पत्रमा भनिएको छ, “जनता समाजवादी पार्टी, नेपाल तपाईंको नेतृत्वमा रहेको सकारलाई समर्थन रहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेश सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु।”

मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाखमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वास प्रस्ताव दर्ता भएकै दिन मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई मन्त्री नियुक्त गरेका थिए। जसमा रायमाझी राज्यमन्त्री थिइन्।

सरकारमा सहभागी चार जनालाई जसपाले सांसद पदबाट हटाएको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत उनीहरूको पद थमौती गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*