निरन्तर वर्षाको कारण हेटौंडा- काठमाण्डौ जोड्ने सडक मार्गहरु बन्द
असार १९, हेटौंडा । दुई दिन देखि परेको निरन्तर वर्षाको कारण आएको बाढी तथा पहिरोले हेटौंडाबाट काठमाण्डौ जोड्ने सबै सडक मार्गहरु अवरुद्ध भएको छ ।
हेटौंडाबाट काठमाण्डौ जोड्ने छोटो सडकमार्ग तीन दिनदेखि बन्द रहेको छ ।
सडकमार्गको हेटौंडा- भैसे सडक खण्डमा भिमफेदी गाउँपालिकामा वडा नंबर १ बाघझोरामा, भैसे-भीमफेदी-फाखेल र सिस्नेरी सडक खण्डमा भीमफेदी गाउँपालिका-२ पान्द्राङ,भीमफेदी गाउँपालिकापा(६ गढी, देराली , ईन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ महा लक्ष्मीखोला , ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यसैगरि कान्तिलोक पथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ कोगटेमा पहिरोले सडकको पिचनै बगाएको प्रहरीले जनाएको छ । कान्तिलोक पथकै ललितपुरको भट्टेडाडामा पनि पहिरो गएको छ । पहिरोको कारण सडकमार्ग अवरुद्ध रहेको छ । यसैगरि हेटौंडा काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ (भैसे-पालुङ-नौबिसे) सडक खण्डको भिमफेदी गाउँपाकिला वडा नंबर ९ अघोर,थाहा नगरपालिका वडा नंबर ६ खानीगाउँ, थाहा नगरपालिका १२ गैरीगाउँमा पहिरोले सडक अवरुद्ध रहेको निमित्त प्रवक्ता दासको भनाई छ ।
अहिले पनि जिल्लाको विभिन्न स्थानमा वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या रहेको प्रहरीले जनाएको छ । मौसममा सुधार आएपछि पहिरो पन्छाउने कार्य सुरु गरिने र अवरुद्ध यातायात सेवा सूचारु गरिने प्रवक्ता दासले बताए । उनका अनुसार जिल्लामा हालसम्म बाढी तथा पहिरोको कारण कुनै पनि मानविय क्षती भएको छैन ।
























