पहिरोको कारण मकवानपुरमा ३ घर,२ गोठमा पूर्ण क्षती
असार १९, हेटौंडा । पछिल्लो २ दिनदेखि परेको निरन्तर वर्षाको कारण आएको बाढी तथा पहिरोले मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ घर र २ गोठमा पूर्ण क्षती भएको छ ।
गाउँपालिकाको वडा नंबर ७ को विभिन्न स्थानमा बाढी तथा पहिरोले ३ घर,२ गोठमा पूर्ण क्षती भएको र ३ गोरु बगाएको वडा अध्यक्ष कुल बहादुर प्रजाले जानकारी दिए । वडा अध्यक्ष प्रजाले गएरातिको वर्षाको कारण पहिरोले आफ्नो वडाको चरिमाराका बिर बहादुर सुनारको घर,डकरीका सोम बहादुर प्रजाको घर, धकाङ्टोलको बनैली मायाँ प्रजाको घर पुरिएको बताए । पहिरो मानविय नभएको तर घर भने पूर्ण रुपमा क्षती भएको वडा अध्यक्ष प्रजाले बताए ।
यसैगरि वडा अध्यक्ष प्रजाले पहिरोको कारण दुई गोठ पनि पुरिएको बताए । उनले वडा नंबर ७ को गुवाङ् बस्ने बुद्दी लाला प्रजाको गोठ र गोठमा रहेको ३ वटा गोरु पहिरोले बगाएको बताए । उनले भनेः पहिरोले अहिलेसम्म ३ घर र २ गोठमा पूर्ण क्षती पुगेको छ । गोठमा भएको ३ गोरु पनि पुरेको छ । सांखार खोला नजिक रहेको गोठमा गएराति पहिरो झर्दा गोठ खोलामा बग्दा ३ वटा गोरु मरे ।
यसैगरि वडा अध्यक्ष प्रजाले पहिरोले भैयाभारीका कच्चेलाल सिंको गोठ पनि पुरेको बताए । उनले भनेः गोठको भैसि सार्न भ्याए । गोठ पहिरो पुरिएको छ । मानविय क्षती भने भएको छैन । यसैगरि वडा अध्यक्ष प्रजाले राक्सिराङ -७ को ४ घर पहिरोको जोखिममा रहेको बताए । राक्सिराङ-७ धिराङ् बस्ने ऋसी मायाँ प्रजा,फुर्ख बहादुर थिङ र प्रताब स्याङतान तथा वारसलिङ्का सुक बहादुर प्रजाको घर पनि पहिरोको जोखिममा रहेको बताए ।
यता जिल्ला प्रहरी कार्यलय मकवानपुरले उक्त स्थानमा निरन्तर वर्षाको कारण प्रहरी पुग्न नसकेको र घर तथा गोठ पुरिएको जानकारी आएको जनाएको छ ।
























