मकवानपुरमा फेरि निषेधाज्ञा थप्ने तयारी
असार २०, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण जोखिमको कारण पछिल्लो २ महिनादेखि निषेधाज्ञा जारी रहेको छ ।
गएको बैशाख २० गते राति १२ बजेबाट हालसम्म निषेधाज्ञा जारी रहेको छ । जिल्लामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि असार २१ गते राति १२ बजे सकिँदै छ ।
जिल्लामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी गरिएको छ । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले जारी निषेधाज्ञालाई थपने तयारी गरेको हो ।
निषेधाज्ञा जारी राख्ने नराख्ने र सार्वजनिक यातायात खुला गर्नेरनगर्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यलय मकवानवुरका प्रमुख जिल्ला अधिकारी प्रजिअ भरतमणी पाण्डेले बताए ।
प्रजिअ पाण्डेको अनुसार बेलुकासम्म निषेधाज्ञा जारी राख्ने या नराख्ने विषयमा निष्कर्ष आउने बताए । उनका अनुसार अहिले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा जिल्ला कोभिड नियन्त्रण व्यवस्थापनको बैठक बसिरहेको छ ।
जिल्लामा कोरोना निको हुनेको संख्या बढेपनि संक्रमण पुष्टि हुनेको संख्या नघटेको कारण जारी निषेधाज्ञालाई थप्ने तयारी गरेको बताईएको छ ।
प्रशासनले जिल्लामा हाल निजि सवारी जोरविजोर प्रणालीमा संचालन र खाद्यनका पसल तथा अन्य प्रकारका पसलहरुलाई समय छुट्टाएर संचालन गर्न दिएको छ ।
प्रशासनले खाद्यन्नको पसल बिहान १० बजे सम्म र अन्य प्रकारका सबैखाले पसलहरु दिउँसो १२ बजेबाट ४ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।
जिल्लामा आजको दिनमा ७ सय ६४ जना संक्रमित घरमा र ८४ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लामा हालसम्म ११ हजार २ सय ३५ जनामा कोरोना पुष्टि हुँदा १० हजार २ सय १३ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा शनिबार ९७ जनाले कोरोना जितेका थिए भने ५६ जनामा कोरोना पुष्टि भएको थियो । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।
























