ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण भएको भट्टराई दाबी
असार २०, ताप्लेजुङ — नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे ।
‘यो दुर्भाग्यपूर्ण निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको छ,’ भट्टराईले भने, ‘फेरी एकपटक एक पक्षीय यी निर्णयहरु खारेज गर्नुपर्छ र फेरी सहमतिमा फर्कनुपर्छ ।’ पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ । त्यो कार्यदलले २०७५ जेठ ३ अघिका कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडी बढाउने सुनिश्चित गर्नुपर्ने उनको तर्क छ ।
भट्टराईले प्रतिनिधिसभा दोस्रो पटकपनि पुनःस्थापना हुने दाबी गरे । उनले भने,ुहामीलाई पहिलो पटक जनताले भोट दिएर सांसद बनाए, दोस्रो पटक अदालतले सांसद बनायो र अब तेस्रो पटकपनि अदालतले बनाउँदै छ ।ु विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनःस्थापना हुने भट्टराईको दाबी छ ।
आफूहरुको पाँचवर्षे कार्यकाल बडो रोचक ढंगले गुज्रेको भट्टराई बताउँछन् । भट्टराईले भने,‘एउटै देशमा एउटै कार्यकालमा दुईरदुई पटक संसद् विघटन सायद यो वर्ल्ड रेकर्ड नै हुन्छ होला ।’ उनले पाँच वर्षको एउटा प्रतिनिधिसभा दुई(दुई पटक पुनःस्थापना भएर अर्कोपनि वर्ल्ड रेकर्ड हुने सम्भावना रहेको बताए ।
प्रतिनिधिसभा विघटनलाई आफूले अनौठो चाहीँ नठानेको भट्टराईको कथन छ । ‘अहिले नभएको भए १०र१५ वर्षपछि भएपनि कुनै न कुनै शासकले गर्थे,’ भट्टराईले थपे, ‘अहिले नै भयो अब अदालतले यसको व्याख्या गरिदिन्छ र संविधान र मुलुक आफ्नो ट्रयाकमा चल्छ ।’ सर्वोच्चको अबको फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहदैमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने उनले बताए ।
सकेसम्म पाँचवर्ष प्रतिनिधिसभा विघटन हुन नदिने मनसायले बनाएको संसद् भएकाले कुनैपनि लोकतान्त्रिक चरित्रको प्रधानमन्त्री वा नेताले विघटन नगराउन अन्तिम प्रयास गर्नुपर्ने भएपनि त्यस्तो नभएको नेता भट्टराईको गुनासो छ ।
























