संयुक्त विज्ञप्तिको विषयमा साथीहरूसँग सल्लाह गर्छु -माधव नेपाल

हेटौंंडा, असार २० – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एकताको सन्देश दिन संयुक्त विज्ञप्ति जारी गर्ने विषयमा सल्लाह गरेर जवाफ दिने बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले आइतबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा पुगेर अध्यक्ष र वरिष्ठ नेताले संयुक्त विज्ञप्ति मार्फत पार्टी एकताको सन्देश दिन आग्रह गरेका थिए।

“पार्टी २ जेठमा फर्कियो, सबै कमिटीहरू त्यस अनुरूप क्रियाशील पनि भए। अब संयुक्त विज्ञप्ति जारी गर्न अध्यक्षज्यू र तपाईं भेट्नुपर्‍यो भन्यौं,” छलफलमा सहभागी एक नेताले हिमालखबरसँग भने, “विज्ञप्ति जारी गर्ने कुरा सकारात्मक छ, तपाईंहरूले मस्यौदा गर्नुस्, म साथीहरूसँग सल्लाह गरेर भन्छु भन्नुभयो।”

नेपाल निवासमा उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्वाङ र शंकर पोखरेल तथा अर्का उपमहासचिव घनश्याम भुसाल सहभागी थिए।

ओली र नेपालबीच भेटवार्ता नभएसम्म विज्ञप्ति मस्यौदा गर्नुको अर्थ नहुने भेटमा सहभागी एक नेता बताउँछन्। उनका अनुसार, नेता नेपाल तत्काल भेटका लागि तयार भएनन्।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पक्षका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। पूर्वप्रधानमन्त्री नेपालले भने हस्ताक्षर फिर्ता लिने कुरा सम्भव नभएको जवाफ दिएका थिए। नेपाल पक्षका २३ जनाले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

यसअघि शनिबार ओली र नेपालबीच भएको फोन संवादमा पनि ओलीले हस्तक्षार फिर्ता लिनुपर्ने बताएका थिए। दुवै नेताबीचको फोन संवादमा कुनै सहमति बन्न सकेको थिएन। ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेपालले पार्टी एकतासँग हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै फिर्ता नलिने जनाएका थिए।

त्यस्तै, शुक्रबार पनि दुवै नेताबीच फोन संवाद भएको थियो। त्यसमा ओलीले केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका थिए भने नेपालले केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*