उपत्यकामा भन्दा हेटौंडामा निषेधाज्ञा कडा
असार २१, हेटौंडा । काठमाण्डौ उपत्यकामा भन्दा हेटौंडामा निषेधाज्ञा कडा पारिएको छ । नेपालकै सबै भन्दा भीडभाड हुने काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो भएपनि मकवानपुर जिल्लामा भने निषेधाज्ञा कडा रहेको छ । काठमाण्डौ उपत्यकामा सबै किसिमका गाडी चल्न पाउने व्यवस्थासहित यही मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।
मकवानपुरमा भने तोकिएका सवारीका साधन मात्र चल्न पाउने भएका छन् । दुइजना सम्म चढ्न मिल्ने सवारीका साधनलाई मात्र चल्नका लागि अनुमती दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आदेशमा उल्लेख छ । निषेधाज्ञा जारी भएपनि हेटौंडा बजारमा दिउसोको समयमा बजार र कार्यालयहरुमा भीड भने कायमै रहेको प्रतक्षदर्सीहरु वताउँछन् । मकवानपुरका दश वटै स्थानीय तहका बजार क्षेत्रमा भीड बढेको छ । बिषेगरी जिल्ला मालपोत कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला तहका अरु सबै स्थानीय तहमा हिजो आज निकै भीड बढेको छ ।
काठमाण्डौमा सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । काठमाण्डौका धेरै बजार पनि खुलेका छन् । मकवानपुर जिल्लामा भने तोकिएको समयमा तोकिएका पसल मात्र खुल्न पाउने भएका छन् ।
मकवानपुरमा भने प्रजिअ पाण्डेको अध्यक्षतामा बसेको बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ४ः ०० बजेदेखि विहान १०ः ०० बजेसम्म खोल्ने दिने निर्णय गरेको छ ।
यसैगरी, बैठकले पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
प्रेस तथा फोटोकपी पसलहरू र फोटो स्टुडियोहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने र पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ ।
त्यस्तै निजी यात्रुबाहक सवारी साधनहरू मोटरसाइकल, मयुरी, अटो, ट्याम्पोमा जोर–बिजोर प्रणालीका आधारमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी सञ्चालन गर्न पाइने भएको छ । साथै लामो दुरीका सवारीसाधन, मालबहाक सवारीसाधन तथा निर्माण सामाग्री ढुवानी साधनहरु यस जिल्लामा नरोकिने गरी आवतजावत गर्न दिने भएको छ ।
























