हेटौंडाको दुई वडाका ३५ जना युवाहरु कांग्रेसमा प्रवेश
हेटौंडा, २१ असार- नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हेटौंडा १५ साविक चुरियामाई ६ का पूर्व वडा अध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौडा १२ र १५ का एमाले र माओबादीका ३५ जना सोमबार कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले टीका लगाएर पार्टीको सदस्यता दिई नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बानियाँले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताउँदै क्षमता, दक्षता र लगनशिलताको आधारमा पार्टीमा उचित स्थान दिईने बताउनुभयो ।
कम्युनिष्टले जस्तो झुठो आश्वासनको पुलिंदा कांग्रेसले नबाढ्ने भन्दै नेता बानियाँले नेपालमा बेरोजगारी संख्या बढिरहेकाले आफू अहिले रोजगारी बढाएर युवाहरुलाई उद्यमशिल बनाउन लागिरहेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का संघिय सभापति दामोदर खनाल, प्रदेश सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नगर सदस्य गणेश ब्लोन, हेटौंडा १५ का कार्यबहाक सभापति नवराज घलान, हेटौंडा १५ का वडाअध्यक्ष महारत्न लामा, जनजाति महासंघ नगर सभापति हर्करत्न लामालगायतको उपस्थिति रहेको थियो ।
























