एमाले कार्यदल बैठक जारी

असार २३, काठमाडौं –  नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको बैठक बुधबार पनि जारी रहेको छ। मंगलबार औपचारिक रूपमा पार्टीको विवादित विषयमा छलफल थालिएको बैठक बुधबार पनि सिंहदरबारमा बसिरहेको छ।

बैठकमा एमालेका दुवैपक्षबीच सहमतिको मस्यौदा तयार भएमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य निकाल्न सक्ने सम्भावना रहेको कार्यदलका एक सदस्यले जानकारी दिए। अनौपचारिक रूपमा पार्टीका दोस्रो तहका नेताहरूबीच लामो समयदेखि चल्दै आएको संवादमा भएका सहमतिको प्रस्तावका विषयमा पनि छलफल भएको छ। तर बैठक मंगलबार कुनै निश्कर्षमा भने पुग्न सकेन जसले संयुक्त वक्तव्य आएन।

डेढ महिनापछि बिउँतिएको कार्यदलको बैठक सोमबारबाटै सुरु भएको हो। पहिलो दिनको बैठकमा विगतमा भएका अनौपचारिक संवादका विषयमा समीक्षा गरिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका नेता एवं पार्टी उपाध्यक्ष भीम रावललाई बालुवाटार बोलाएर कार्यदल बिउँत्याएका हुन्।

पछिल्लो समयमा ओली एकताका लागि लचिलो बनेका छन्। कार्यदलमा संवाद सुरुवातसँगै विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माधव पक्षका २३ जनाले गरेका हस्ताक्षर फिर्ता गर्न २१ गते बेलुका ५ बजेसम्मका लागि लिएको अल्टिमेटमको सन्दर्भिकता पनि सकिएको दुवै पक्षका नेताले स्वीकार गरेका छन्।

माधव पक्षका कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष भीम रावलले कार्यदल बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफलको सुरुवात भएको जानकारी दिए। बैठकपछि छोटो प्रतिक्रिया दिँदै उपाध्यक्ष रावलले दोस्रो दिनको बैठक संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा केन्द्रित भएको स्पष्ट पारे। ‘जसरी अदालतको फैसलापछि नेकपा एमाले पुनर्जीवित भएको छ, एमालेको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरू उत्पन्न भएका छन्। ती विषयमा कार्यदलका सबै सदस्यहरूबाट सहमतिका आधारमा अघि बढ्ने बारेमा छलफल भयो’, उपाध्यक्ष रावलले भने।

कार्यदलका सदस्य गोकर्ण विष्टले दुवै पक्षका नेता समस्या समाधानका लागि सकारात्मक रूपमा प्रस्तुत भएका कारण यसपल्ट आशावादी हुन सकिने स्पष्ट पारे। ‘कार्यदलका सबै सदस्यले आ–आफ्नो सुझाव राख्नुभएको छ। कसरी टुंगोमा पुग्ने भन्ने छलफल अघि बढेको छ,’ विष्टले भने, ‘सोमबारभन्दा मंगलबार धेरै प्रगति भएको छ। केही विमतिका कुरा थिए। कहाँ–कहाँ विमति छ, त्यसमा कसरी टुंगोमा पुग्ने भन्ने छलफल भएको छ।’

छिटोभन्दा छिटो निश्कर्षमा पुर्‍याउने प्रयास भइरहेको संस्थापन पक्षका एक नेताले भने। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रूपमा वक्तव्यमार्फत एकता सन्देश दिलाउने प्रयास पनि भइरहेको छ। कार्यदलले संयुक्त वक्तव्यको प्रस्तावको गहृकार्य गरिरहेको छ। ओली र नेपालबीच भेटघाट गराउने पहल पनि भइरहेको छ। विवादित विषयमा बीचको बाटो खोज्ने प्रयास गरिएको छ।

कार्यदलमा संस्थापन पक्षको संयोजकमा सुवास नेम्वाङ र सदस्यहरूमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। माधव तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। कार्यदल जेठ २ मा गठन गरिएका थियो। जेठ ५ बाट कार्यदल निष्क्रिय भएको थियो।

सिंहदरबारमा कार्यदल, कोटेश्वरमा दाहाल
कार्यदलको बैठक बसिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वरस्थित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन्। कार्यदलको बैठक भइरहेको बेला दाहाल कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एमाले वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच झन्डै एक घण्टा संवाद भएको छ।

एमालेको एकता प्रक्रियाले गति लिने सम्भावना बढेर गएपछि विपक्षी गठबन्धनबाट नेपाललाई फुत्किन नदिन दाहाल कोटेश्वर पुगेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनी नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष र जसपाको उपेन्द्र पक्षको विपक्षी गठबन्धनलाई आगामी निर्वाचनसम्मै सँगै लाने रणनीतिमा छन्। माधव पक्ष ओलीसँग मिलेर एमाले एक भएमा विपक्षी गठबन्धनमा आफू कमजोर हुने देखेर उनी जनकपुरबाट फिर्ता हुने क्रममा सिधै नेपाल निवास गएको बताइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*