वाग्मती प्रदेशसभाको बैठक असार २६ गते
असार २३, मकवानपुर — अर्को सूचना नभएसम्मका लागि स्थगित भएको वाग्मती प्रदेशसभाको बैठक पुनस् आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले असार २६ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक डाकेको हो ।
आगामी आर्थिक वर्ष २०७८र०७९ बजेट पास गराउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभाको बैठक अवरुद्ध भइरहेको छ । लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरिरहेका छन् ।
‘असार २५ गते शुक्रबार दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको वैठक आह्वान गरिएको छ । उक्त सर्वदलीय बैठकबाट सदनलाई कसरी सञ्चालन गर्ने भन्ने टुंगो लगाउनेछ,’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी विनोद अमात्यले भने ।
प्रतिपक्ष दलको अवरोधका कारण प्रदेशसभाका बैठक असार २१ गते सोमबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।
विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपुरक बजेट र योजनाको बाँडफाँड न्यायोचित वितरण नभएको तथा प्रदेश सरकारले आफैं आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद्मा अवरोध सिर्जना गर्दै मोर्चाबन्दी गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपा बजेट फेल गराउन मोर्चाबन्दी गरिरहेका छन् ।
























