आज पनि एमाले कार्यदलको बैठक
२५ असार, काठमाडौं । आन्तरिक विवाद मिलाउने प्रयासमा नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ ।
आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताए । नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरु विगत केही दिनयता सक्रिय भए पनि वार्तामा कुनै प्रगति भएको देखिएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए ।
विहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने बैठकमा खास प्रगति नभएको बताए । ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यही अवस्थामा छौं । खास प्रगति गरेका छैनौं,’ बिहीबार दोस्रो पटकको बैठकपछि भुसालले पत्रकारहरुसँग भनेका थिए ।
























