‘माओवादी केन्द्र खारेजीको निवेदनलाई आयोगले सम्बोधन गर्छ’- निर्वाचन आयोग
हेटौंडा, असार २५ – माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदन सम्बोधन गर्ने निर्वाचन आयोगले बताएको छ ।
एमालेमा गएका पूर्व माओवादी केन्द्रका नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा बुधबार निवेदन दर्ता गरेका थिए । सो निवेदन अनुसार उनीहरूको माग ठिक छ वा छैन त्यसबारे आयोगले निचोड दिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
गत असार २३ गते माओवादी केन्द्रका पूर्व नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायतका नेताहरू निर्वाचन आयोग पुगेर माओवादी केन्द्र पार्टी नै अवैध रहेकोले खारेजीको माग गरेका थिए । साथै उनीहरूले अवैध पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सांसद पदबाट हटाउने कारबाही अवैध रहेको भन्दै आयोगमा उजुरी दिएका थिए ।
आयोगले उनीहरूले दिएको निवेदनसमेत दर्ता गरेको थियो । आयोगका प्रवक्ता श्रेष्ठले भने–‘उहाँहरूले दिनुभएको पत्र दर्ता भएको छ । आयोगले यसबारेमा केही न केही सम्बोधन गर्छ । उहाँहरूको निवेदन उपर केही निर्णय गर्नु नपर्ने अवस्था देखियो भने पनि सो बारे निर्णय गर्छ । आयोगले निवेदन दर्ता गरेपछि त्यसबारे के गर्ने नगर्ने भन्ने बारेमा सम्बोधन गर्छ ।’
एमालेमा गएका पूर्व माओवादी नेतालाई माओवादी केन्द्रले सांसद पदबाट कारबाही गरेपछि उनीहरूले मन्त्री पद गुमाउनु परेको थियो । माओवादी केन्द्रको महाधिवेशन २०७५ सालभित्र भइसक्नुपर्ने, पार्टी अवैध रहेकोले दल दर्ता खारेज र उनीहरूमाथिको कारबाही अवैध रहेको जिकिर पूर्व माओवादी नेताहरूको छ ।
शुक्रबार उनीहरू यस निवेदन उपर के कामकारबाही भयो भनेर निर्वाचन आयोगको ताकेता गर्न पुगेका थिए ।
























