पहिरोको कारण ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग बन्द
असार २५, काठमाण्डौ – ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग दुई ठाउँमा पहिरो गएर बन्द भएको छ । ललितपुरको छपेली र मकवानपुरको थिङ्गनमा हिजो बिहीवार गएको पहिरो हटाउन समस्या भएकाले बाटो पूर्ण रूपमा बन्द रहेको सडक विभागले जनाएको छ ।
यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको डोभिल्ला र नयाँ पुलमा गएको पहिरोले तीन दिनदेखि बाटो पूर्ण रूपमा बन्द भएको छ । बाढी तथा पहिरोका कारण गएको जेठ ३१ गतेपछि राष्ट्रिय स्तरका सडकको एक सय १८ ठाउँमा अवरोध भएकोमा १७ वटा सडक अझै पूर्ण रूपमा बन्द छन् । ६३ ठाउँको अवरोध हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ भने ३८ ठाउँमा सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सबैभन्दा धेरै डुम्रे–बेसिसहर–चामे सडक अन्तर्गत मनाङमा चार ठाउँ र लमजुङमा तीन ठाउँमा बाटो पूर्ण बन्द भएको छ । यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतमा तीन ठाउँमा बाटो बन्द छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारीमा बाटो बन्द छ । यस्तै सिदार्थ राजमार्गको पाल्पा र ठोरी–भडारा रसुवागढी सडक अन्तर्गत रसुवाको त्रिशूली खोला, सानो भार्खुखोला र जागाबारीमा बाटो बन्द रहेको सडक विभागले जनाएको छ ।
























