बागमती प्रदेशसभाको बैठक आज बस्दै
असार २६, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ ।
असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।
कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि असार १९ र २१ गते बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा बागमती प्रदेश सरकारले ल्याएको गौरबको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने,विद्युतीय बस सञ्चालन गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।
























