वाग्मती प्रदेशसभाको बैठक स्थगित
असार २६, मकवानपुर — आगामी आर्थिक वर्ष ०७८र०७९ को बजेट पास गर्नका लागि आह्वान गरिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले सूचना जारी गरेर स्थगित गरेको हो ।
बैठक सञ्चालनको विषयमा सदनमा प्रतिनिधित्त्व गर्ने दलहरुबीच सहमति नजुटेपछि बैठक सारिएको हो । सरकारले प्रतिपक्षी दलसँग सहमति बिना बैठक बोलाएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार बिहान साढे ११ बजेका लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए । ‘सरकार प्रदेशसभाको बैठकमा सहमति जुटाएर सञ्चालन गर्ने भन्दा पनि अंकगणितीय हिसाबले पेलेर अगाडि बढ्न खोज्यो । सत्तापक्षको पेलेर बजेटलाई पास गराउने आएपछि प्रतिपक्षहरुले विरोध गरेसँगै वैठक स्थगित भएको हो’, उनले भने ।
मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको बैठकमा सदन एकदिन सार्ने विषयमा सहमति जुटेसँगै बैठक सारिएको हो । प्रदेश सरकारले आगामी आब ०७८र०७९ का लागि ल्याएको बजेटमा सन्तुलन नरहेको, सरकारले आम सञ्चारगृह चलाउन लागेको, बिना पूर्वाधार विद्युतीय सवारी खरिद गर्न लागेको भन्दै प्रतिपक्षी दलहरु लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
























