वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल र प्रतिपक्षी दलबीच वार्ता

मकवानपुर, असार २६ –  बागमती प्रदेशसभाको बैठक बस्न नसकेपछि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन। संवैधानिक व्यवस्थाअनुसार असारभित्र प्रदेशसभाले सरकारबाट प्रस्तुत बजेट पारित गरिसक्नुपर्छ।

समय घर्किन लागेपछि बजेटमाथि छलफल गर्ने र त्यसलाई पारित गर्ने हिसाबले आज (शनिबर) का लागि बोलाइएको बैठक स्थगित भएपछि भोलि (आइतबार) साढे ११ बजेका लागि अर्को बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

त्यसअघि दलीय सहमति जुटाउन मुख्यमन्त्री डोरमणि पौडेलले प्रयास अघि बढाएका छन्। उनले प्रतिपक्षी दलहरूसँग वार्ता गरेको बताइएको छ। उनले प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँसँग वार्ता गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ।

उक्त वार्तामा सभामुख सानुकुमार श्रेष्ठ र एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको सहभागिता रहेको थियो। वार्ता सकारात्मक रहेकाले आइतबारको बैठकमा कुनै अवरोध नहुने र छलफलपछि बजेट पारित हुने वातावरण बनेको बताइएको छ।

आर्थिक वर्ष २०७८\८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*