बकैयामा सार्वजनिक पुस्तकालय स्थापना
असार २७, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सार्वजनिक पुस्तकालय स्थापना भएको छ ।
पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा बकैया गाउँपालिका–४ मा बकैया सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी शनिबार पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईबीच पुस्तक हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ ।
बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाई, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दंगाल, एस के निधन र राम मंग्रातीले जनही ५ हजार रुपैयाँका दरले योगदान गरेका हुन् ।
पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा मकवानपुरमा तीन वटा पुस्तकालय स्थापना भएका छन् । एक महिनाको अवधिमा यसअघि हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौंडा–६ मा शान्ति पुस्तकालय स्थापना भइसकेको छ ।
























