‘शेरबहादुरजीलाई विश्वासको मत दिन्छौं’ – बिरोध खतिवडा

हेटौंडा, असार ३० – नेकपा (एमाले) वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा प्रधानमन्त्री बनेका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको भोटले मात्रै देउवाको पद जोगिँदैन।

तपाईंहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुहुन्छ भन्ने प्रश्नमा माधव नेपाल पक्षका नेता विरोध खतिवडाले भने, “निःसन्देह हामी उहाँलाई मत दिन्छौं, यो कुरा सर्वोच्चमा बुझाएको रिटमा पनि स्पष्ट उल्लेख छ।”

संसद्ले पूरै कार्यकाल काम गर्नुपर्छ र स्थायित्व हुनुपर्दछ भनेर आफूहरूले देउवाको पक्षमा हस्ताक्षर गरेको खतिवडा बताउँछन्। उनी भन्छन्, “हामी शेरबहादुरजीलाई अन्तिमसम्म साथ दिन्छौं।”

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्येकी एमाले नेत्री कल्याणी खड्का पनि देउवालाई विश्वासको मत दिनुपर्नेमा जोड दिन्छिन्। पटक पटकको संसद् विघटन रोक्नकै लागि आफूहरूले देउवालाई साथ दिएको उनको भनाइ छ।

“संविधान र लोकतन्त्र जोगाउन नेतृत्व गर्नुभएकाले देउवालाई साथ दिएका हौं,” खड्का भन्छिन्, “उहाँलाई विश्वासको मत दिएर यो सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन सकिन्छ।”

नेपाल पक्षका अर्का नेता मेटमणि चौधरी विश्वासको मत नदेला कि भनेर शंकै नगर्न आग्रह गर्छन्। उनले हिमालखबरसँग भने, “रिटमा हस्ताक्षर गर्ने २३ जनाले मात्रै होइन, एमालेका थप सांसदहरू मिलेर विश्वासको मत दिन्छौं।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*