एमालेका दुवै समूहको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेका दुवै समूहले बुधबार पनि छुट्टाछुट्टै छलफलको आयोजना गरेका छन्। संस्थापन समूहको केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दैछ। यसअघि सोमबार र मंगलबार पनि एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो।

सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर अहिलेसम्म देउवालाई मत दिने सांसदहरुले स्पष्टीकरण पत्र नपाएको बताएका छन्।

मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सप्ष्टीकरण पत्र काट्ने काम भैरहेको र २४ घण्टापछि त्यसबारे थप थाहा हुने बताएका थिए। मंगलबारको बैठकमा प्रदेशगत रिपोर्टिङ भएकोमा आजको बैठकमा पनि त्यसले निरन्तरता पाउने उनले बताएका थिए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक आज मध्यान्न १२ बजेपछि बस्दै छ। यो बैठकमा वरिष्ठ नेता नेपालले विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित आफ्ना गुटका सबै नेताहरुलाई बोलाएका छन्।

शेरबहादुर देउवालाई विश्वासको मत दिनेरनदिने आफ्नो समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा डाकेका छन्। स्रोतका अनुसार सम्भवतः यो बैठक पार्टी फुटाएर अघि बढ्ने कि एमालेमै रहेर संघर्ष जारी राख्ने भन्नेमा निर्णायक हुने छ।

नेपालले मंगलबार देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै लामो छलफल गरेका थिए। उक्त बैठकमा केही दिनिभत्रै आफ्नो समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकोले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मको छलफल भएको थियो।

बैठकमा नेता मेटमणि चौधरीले ओली समूह त्यागेर धेरै सांसदहरु आफ्नो समूहमा आउने तयारीमा रहेको दाबी गरेका थिए। बैठकपछि सांसद रामकुमारी झाँक्रीले भनेकी थिइन्, ‘पार्टी एकताका लागि अब अध्यक्ष ओलीले पद त्यागेर मार्गप्रशस्त गर्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*