‘गलत कुरो सहेर कोही बस्दैन’ – नेता नेपाल

काठमाडौं ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन दुवै पक्ष लचिलो हुनुपर्ने बताएका छन् ।

बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँदै एमालेलाई जनताको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले अध्यक्ष ओली सुध्रिए पार्टीमा मिलेर बस्ने तर, अपमान सहेर नबस्ने बताएका हुन् ।

‘नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन,’ नेता नेपालले भने ।

उनले नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्नुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्ने र पार्टी भित्र घाउ खटिरा भए तिनलाई औषधिले निको बनाउनुपर्ने बताएका हुन् ।

‘कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन’, उनले भने, ‘आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ,’ उनले भने, ‘पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

आफुहरु अझै पनि एकताबद्ध एमाले चाहने भन्दै नेता नेपालले बाँदर जुलस र प्रर्दशनले अराजकता मौलाएको बताए ।

‘अहिले जुन बाँदर जुलुस लगायतका गतिविधि भैरहेको छ, यो अराजकता प्रस्तुत भैरहेको छ । यसले राम्रो गर्दैन । हामी अझै पनि एकताबद्व एमाले चाहिँ रहेका छौँ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*