बागमती प्रदेशमा ३६ वटा प्रहरी भवन निर्माणको काम सकियो
हेटौंडा । बागमती प्रदेशमा ३६ वटा प्रहरी कार्यालयको भवन निर्माणको काम सकिएको छ । अरु ११ वटाको भवन निर्माण हुने चरणमा पुगेको छ । ११ वटा भवनको ९० प्रतिशत काम सम्पन्न भएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत प्रहरीका भवन निर्माण भएका हुन् । प्रदेश प्रहरी कार्यालय अन्तरगतका बिभीन्न प्रहरी चौकी, इलाका प्रहरीका भवन निर्माण गरिएको हो ।
तीन वर्षको अवधिमा निर्माण सक्नेगरी ४७ वटा प्रहरी कार्यालयका भवन निर्माणको काम सुरु गरिएको थियो । कुल ९३ करोड २२ लाख ७२ हजार रुपैयाँ लागतमा प्रहरी कार्यालय भवन निर्माण गर्ने लक्ष अनुसार काम भइरहेको र सकिने चरणमा पुगेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता नारायण प्रसाद पोख्रेलले वताउनुभयो ।
अघिल्लो आब सम्ममा प्रहरीका भवन निर्माणमा ५६ करोड ९७ लाख १६ हजार रुपैयाँ खर्च भएको थियो । बितेको आर्थिक वर्षमा ३० करोड २५ लाख ५१ ह्जार रुपैयाँ खर्च भएको उहाँले वताउनुभयो । प्रदेश सरकार मातहत प्रहरी नभएपनि उसका भवन निर्माण, सवारीका साधन भने बागमती सरकारले खर्च गर्दै आएको छ ।
























