सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रम – स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने (पूर्णपाठ)
काठमाडौँ — सत्तारूढ गठबन्धनले परराष्ट्र नीति निर्माणका लागि राष्ट्रिय सहमति कायम गर्ने भएको छ । साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले परराष्ट्र नीति तय गर्दा सबै राजनीतिक दलहरूबीच सहमति कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनका शीर्ष नेताहरूलाई शुक्रबार बुझाइएको साझा न्यूनतम कार्यक्रममा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने र त्यसका लागि सबैबीच सहमति कायम गर्ने उल्लेख छ ।
परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने, साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ, देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्नु, भूपरिवेष्टित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने ।
साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ, छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्धलाई जोड दिने ।
शान्ति, स्थिरता, आर्थिक रूपान्तरण र जनताको समृद्धिको दिशामा अगाडि बढ्न सबै मित्रराष्ट्रहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने पनि सत्तारूढ गठबन्धनले कार्यक्रम अघि सारेको छ । संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त एवम् राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
यसरी तय गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने पनि उल्लेख गरिएको छ ।
यस्तो छ सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रम
























