मकवानपुरमा बढे सम्बन्धविच्छेद गर्ने पुरुष

हेटौंडा । पछिल्लो ३ वर्षदेखि श्रीमतीसँग अलग बस्दै आएका मकवानपुर भीमफेदी–४ का सुमन मोक्तान सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गराइपाऊँ भनी मकवानपुर जिल्ला अदालतमा गत भदौमा उजुरी दिएका थिए ।

हेटौंडा–१९ का २९ वर्षीय श्याम खत्रीले पनि गत माघ ११ मा सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका छन् । २०७५ भदौ १ देखि नयाँ अपराध संहिता लागू भएपछि सम्बन्धविच्छेदका लागि महिलासरह पुरुषलाई पनि सहज बनेको छ । जसका कारण मकवानपुरमा सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा जिल्ला अदालतमा ६ सय ८७ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये महिलाका ४ सय २२ थान र पुरुषका २ सय ६५ थान मुद्दा छन् । जसमध्ये महिलाले दर्ता गराएका ३ सय १ थान र पुरुषले दर्ता गराएका १ सय ११ थान मुद्दा किनारा लागिसकेका अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । अघिल्लो आवमा १ सय २ जना पुरुषले र ४ सय १ जना महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

‘महिलाले सम्बन्धविच्छेदका निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिट्टै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ भट्टराईले भने, ‘पुरुषले दिएका प्रायः उजुरीमा महिलाको सहमति नहुने भएकाले फैसला हुन समय लागेको हो ।’ मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । श्रीमान्–श्रीमती मिलेर बसून् भन्ने उद्देश्यले यस्तो व्यवस्था राखिएको उनको भनाइ छ ।

पछिल्लो कानुनी व्यवस्थाअनुसार लगातार ३ वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा श्रीमतीविरुद्ध श्रीमान् पनि अदालत जान सक्छन् । श्रीमतीले अन्य कुनै परपुरुषसँग यौनसम्बन्ध राखेको अवस्थामा पनि श्रीमान्ले सम्बन्धविच्छेद गर्न सक्छन् । ‘समानताका नाममा कानुनले पुरुषका लागि सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता मदन दाहालले भने, ‘यसकै कारण सम्बन्धविच्छेद गर्न चाहने पुरुषहरूको संख्या अदालतमा बढेको हो ।’

उनका अनुसार स्वतन्त्र हुने नाममा स–साना मनमुटावमा पनि श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद हुने क्रम बढेको अदालतका स्रेस्तेदार भट्टराईले बताए । उनका अनुसार विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाहरूको जोडी पनि छ । गत आवमा अदालतमा विवाह गरेको एक वर्ष बित्न नपाउँदै ४ जोडीले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका थिए । ‘सम्बन्धविच्छेदलाई महिला र पुरुष दुवैको हकमा खुकुलो बनाउँदा सामाजिक र पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीहरूको भविष्य अन्धकारमय बन्ने देखिन्छ,’ अदालतका एक कर्मचारीले भने, ‘नयाँ संहिताले समाजलाई थप विखण्डनतर्फ लैजान्छ कि जस्तो लाग्छ ।’

नयाँ संहिता कार्यान्वयनमा आएपछि जिल्ला अदालतमा गत आवमा ६० वर्षमाथिका ४ वृद्धले सम्बन्धविच्छेदका लागि उजुरी दिएका थिए । जिल्ला अदालतका अनुसार गत आवमा सबैभन्दा धेरै सम्बन्धविच्छेद र त्यसपछि लागूऔषधसम्बन्धी मुद्दा रहेका छन् । जिल्ला अदालतले गत आवमा दर्ता भएका २ हजार ४ सय २० मुद्दामध्ये १ हजार ५ सय १८ थान फर्छ्योट गरेको छ । अघिल्लो आवबाट ९ सय १५ थान मुद्दा जिम्मेवारी सरेर आएकामा ९७ थान मात्र फर्छ्योट हुन बाँकी रहेको भट्टराईले बताए ।

कान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*